below-header-datsun-ads
ARTICLE NEWS

एभरेष्ट इन्टर्नेशनल स्कुल जापानको तेस्रो अधिवेशन सम्पन्न

everest

एभरेष्ट इन्टर्नेशनल स्कुल जापानको आइतवार टोकियोमा भएको तेस्रो अधिवेशनबाट डा. भूपालमान श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ ।डा. श्रेष्ठ तेस्रोचोटी एभरेष्ट इन्टर्नेशनल स्कुलको सञ्चालक समितिको अध्यक्ष हुनुभएको हो । १३ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा भूषण घिमिरे, मेघराज नेपाल, रोशन केसी, बिश्वेश्वर रेग्मी, कपिलदेव थापा, सुजाता श्रेष्ठ, नरबहादुर थापा, पुष्करजंग थापा, डिपी कँडेल, सगुन थापा र मनिषा बाँस्तोला रहनुभएको छ । सञ्चालक समितिको पहिलो बैठकले ३ सदस्यीय कार्यकारी बोर्ड र सल्लाहकार समिति निर्माण गरिने बताईएको छ ।अधिवेशनमा प्रिन्सिपल प्रदिप थापाले स्कुलको गतिबिधिहरुका बारेमा जानकारी गराउनुभएको थियो भने अध्यक्ष डा. श्रेष्ठले स्कुलको आर्थिक प्रतिबेदन र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । यसैगरी कार्यकारी बोर्डका सदस्य मेघराज नेपालले स्कुलको भौतिक पूर्वाधार ब्यवस्थापनका लागि भईरहेका पहलहरुका बारेमा जानकारी गराउनुभएको थियो ।यसैगरी प्रोमोटरहरुको तर्फबाट बोल्दै केशव थापाले स्पष्ट लक्ष र मिशनका साथ स्कुल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अब नेपाली विद्यार्थीका लागि मात्र नभएर इन्टर्नेशनल विद्यार्थीलाई समेत ध्यानमा राखी पाठ्यक्रम छनौट गर्नुपर्ने बेला आएको धारणा ब्यक्त गर्नुभयो ।यसैगरी अभिभावक समेत रहनुभएका अर्का प्रोमोटर सगुन थापाले एभरेष्ट स्कुलले नेपाली पाठ्क्रमअनुसार पठनपाठन गराउनुका साथै जापानी समुदायमा नेपाल र नेपालीलाई चिनाउने काम पनि गरिरहेको विचार ब्यक्त गर्नुभयो ।यसैगरी सल्लाहकार किरणविक्रम थापाले स्कुलले विद्यार्थी, अभिभावक, शिक्षक र सञ्चालक समितिका बीचमा रहेर समन्वयकारी भूमिका खेल्न सक्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो अधिवेशनलाई समापन गर्दै समारोहका सभापति डा. श्रेष्ठले जापानमा नेपाली समुदायको सामुहिक प्रयासबाट शुरु गरिएको एभरेष्ट इन्टर्नेशनल स्कुलको हालसम्मको यात्रामा सहयोग र सहकार्य गर्दै आउनुहुने सबैमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सबै प्रोमोटरहरुको रचनात्मक सहयोग जारी रहने बिश्वास ब्यक्त गर्नुभयो । अधिवेशन समारोहको सञ्चालन कार्यकारी बोर्डका सदस्य भूषण घिमिरेले गर्नुभएको थियो । अधिवेशन समारोहमा प्रमुख अतिथिकारुपमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा आउने कार्यक्रम रहे पनि उहाँ आउनुभएन ।सन २०१३ मा १३ जना विद्यार्थीहरुबाट सुरु भएको सुगिनामी वार्डको आशागायास्थित एभरेष्ट इन्टर्नेशनल स्कुलमा हाल १ सय ७२ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीको चाप बढेसंगै आशागाया ब्लकमा कक्षा कोठा अपुग भएपछि ओगिकुबोमा पनि एउटा छुट्टै भवन भाडामा लिई स्कुलले ठूला कक्षाका विद्यार्थीहरुलाई पठनपाठन गराईरहेको छ । हाल एभरेष्ट स्कुलमा नर्सरीमा १२ जना, एलकेजीमा १९ जना, युकेजीमा २२ जना, कक्षा १ मा १८ जना, कक्षा २ मा २० जना, कक्षा ३ मा १९ जना, कक्षा ४ मा १९ जना, कक्षा ५ मा ११ जना, कक्षा ६ मा ११ जना र कक्षा ७ मा १९ जना रहेका छन् । विद्यार्थीहरुमा धेरैजसो नेपालीहरु रहे पनि केही जापानी, बंगाली लगायत केही अन्य मुलुकका बालबालिकाहरु पनि अध्ययनरत छन् । स्कुलमा शिक्षक शिक्षिका २५ जना र ३ जना प्रशासकीय कर्मचारी गरी २८ जना कार्यरत छन् ।नेपाल सरकारबाट मान्यता प्राप्त एभरेष्ट इन्टर्नेशनल स्कुल कक्षा १२ सम्मको अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने लक्ष सहित सो बमोजिमको भौतिक पूर्वाधारको ब्यवस्थापनमा जुटीरहेको छ । स्कुललाई कक्षा १२ सम्मको पढाई हुन सक्ने क्षमता र खेलमैदान सहितको सुबिधा सम्पन्न भवनको शिघ्र ब्यवस्थापन गर्नु नयाँ सञ्चालक समितिको सबैभन्दा ठूलो चुनौती रहेको छ ।