कविता :आमाको रातो आँसु(अनील चौँलागाई)

तिमीले हेर्ने ऐनामा हेर
पुज्ने मन्दिरमा हेर
त्यहाँ तिमि भगवान पाउँछौ भने
एकपल्ट आफ्नै घरको
झयाल ढोका खोलेर हेर
खै त तिम्री बूढी आमा ?

ढुङ्गालाई महादेवको लिङ्ग मानी
फूलपाती चढाऊने बुहारि
ढुङगामा दही र फुलपातिको थालिमा
पैसा फ्याक्ने छोरो
खोई त तिम्री बूढी आमा ?

यती राम्रो रोजगार बोकेको मान्छे तिमी
आफ्नै बलबुताले शहरमा ठडिएको घर तिम्रो
टीपिक्क छाती बोकेकि साथमा संगिनी
डबल बेडमा ओच्छ्याइएको बीस इन्चे कपासे डस्ना
फ्रीजमा ठडिएका राता काला बोतल हरू
हेर्दा वाओ लाग्छ
प्रगतिले दुश्मन जलाएको छौ
घरका कोठालाई भाडामा लगाएका छौ
एउटा महलभीत्र सबै अटायौ
तर
एउटी बृद्द आमा किन अटिनन्?
किन हुत्तायौ ? बृद्द आश्रममा आमालाई?

माइकल ज्याक्सनको पप उफरमा उफ्राउँदै निदाउने तिमी
के बृद्द आमाको खोकि असहज भएको हो ?
पोल्टामा हँसिया भिरेर
उकाली ओरालीमा पसीनाको खोली बगाएर
छोरो भटमास मन पराउँछ है भनि खुवाउने आमा
आज निर्दयी बदमास छोरोको आमा भएकी छिन्

तिमिलाई चिसो लाग्छ भन्ने डरले
परालको गुन्द्री बुन्ने आमालाई
किन धकेल्छौ सडकका पेटीहरुमा ?
तिमीले आज किन्ने गरेको भटमासमा
आमाको माया मिसिएको नहोला?
यदी आकास गंगाबाट तिमी खसेको होइनौ भने
तिमीले पिउने रातो झोल कतै
तिम्रै निर्ममताले पिलिएर
आमाको रातो आँखाले ओकलेको
रातो आँसु त होइन ?
भन तिमी स्याऊको अङ्गुरको को जूस की
आमाको बेदनाको रातो आँसू पिउदै छौ ? ?

अनिल चौलागाइ
टोकियो जापान

साहित्यप्रेमी हरुको निम्ती जापानमा ‘काब्य डबलि’ हुँदै

आउँदो जुन महिनाको १७ तारिखका दिन अन्तराष्ट्रीय नेपाली साहित्य समाज जापान च्याप्टरको नियमित साहित्यिक शृखला ‘काव्य डबलि’ हुने भएको छ ।
रचना वाचन गर्न र सुन्न चाहने हरु उक्त कार्यक्रममा सहभागिता जनाउन सक्नेछन । “काव्य डबली”शिर्षक दिईएको उक्त कार्यक्रम ४५ औँ साहित्य शृखंला हो । टोकियो सिनओकुबोस्थित नेपाली मुरा हलमा जापनि समय अनुसार दिनको १ बजेदेखि साझ ५ बजेसम्म हुने आयोजक भएकोले अध्यक्ष दिप पाठकले सबैलाई उपस्थितिको निम्ती अनुरोध गर्नुभएको छ ।

अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

वासिङटन, १९ जेठ / अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४९९ जनाको मृत्यु भएको र १६९ जना घाइते भएका उल्लेख गरिएको छ । अमेरिकी सेनाले इराक, सिरिया, अफगानिस्तान र यमनमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका जनाइएको छ ।

“मारिनु दुखद घटना त हो तर त्यो सुरक्षाको दृष्टिकोणले आवश्यक र जिम्मेवारीपूर्ण नै थियो,” प्रतिवेदनमा लेखिएको छ । सोमालिया र लिबियामा अमेरिकी सेनाद्धारा मारिएकाहरुको कुनै पहिचान हुन नसकेको जनाइएको छ । (रासस/सिन्ह्वा)

विश्वकप अघिको अभ्यास खेलमा : इटालीमाथि फ्रान्सको शानदार जित

काठमाडौं, १९ जेठ । फिफा विश्वकप अघिको अभ्यास खेलमा फ्रान्स र अस्ट्रेलिया विजयी भएका छन् । फ्रान्सले इटलीलाई र अस्ट्रेलियाले चेक गणतन्त्रलाई पराजित गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता ग¥यो ।

एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलाए ।२९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गरेपछि फ्रान्सले २–० को अग्रता लिएको थियो ।

३६ औं मिनेटमा इटालीका लियोनार्दो बोनुचीले गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६३ औं मिनेटमा फ्रान्सका ओस्माने डेम्बेलेले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

यसैगरी गएराति नै भएको अर्को अभ्यास खेलमा अष्ट्रेलियाले चेक गणतन्त्रलाई ४–० ले हराएको छ । बलियो रुपमा प्रस्तुत भएको अष्ट्रेलियाको खेलका लागि ३२ औं मिनेटमा म्याथ्यू लिकीले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको अष्ट्रेलियाले दोस्रो हाफमा ३ गोल गर्‍यो । एन्ड्रयू नाबोटले ५४ औं मिनेटमा गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए ।

सुरुदेखि चेक गणतन्त्रलाई दबाबमा राखेको अष्ट्रेलियाका लागि म्याथ्यू लिकीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । एकपक्षीय खेलमा चेकका ज्याकुब जुगासले ८० औं मिनेटमा आत्मघाति गोल गरेका थिए । यो विश्वकपमा इटाली र चेक गणतन्त्र सहभागी छैनन् ।

नेपाल–भारत इपिजीको अन्तिम बैठक असारमा

काठमाडौं २० चैत ।
१८ देखि २० जेठका लागि डाकिएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को अन्तिम बैठक १५ र १६ असारमा बस्ने तय भएको छ । भारतीय सदस्यहरूको प्रस्तावमा बैठकको मिति तय भएको हो । यसअघि आठवटा बैठक बसिसकेको इपिजीको म्याद २० असारमा सकिँदै छ ।

बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सके साझा प्रतिवेदन तयार हुनेछ । तर, यसबारे भारतीय सदस्यले स्पष्ट जवाफ नदिँदा सहमति हुने–नहुने निश्चित भइनसकेको नेपाली पक्षको बुझाइ छ ।

बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सके साझा प्रतिवेदन तयार हुनेछ । तर, यसबारे भारतीय सदस्यले स्पष्ट जवाफ नदिँदा सहमति हुने–नहुने निश्चित छैन ।

२९ र ३० चैतमा दिल्लीमा बसेको इपिजीको आठौँ बैठकमा १९५० को नेपाल–भारत सन्धि र नेपाल–भारत सीमा नियमनको विषयमा आठ घन्टाभन्दा लामो छलफल भएको थियो । सोही बैठकले १८ देखि २० जेठसम्म तीन दिन काठमाडौंमा अन्तिम बैठक गर्ने र सहमतिको साझा प्रतिवेदन दुवै सरकारलाई बुझाउने सहमति निकालेको थियो ।
नयाँपत्रिकाबाट

यसपटक छिट्टै भित्रँदै मनसुन

काठमाडौं २० चैत । यस वर्षको मनसुन विगतका वर्षहरू भन्दा केहीअगावै शुरू हुने भएको छ। अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविद्हरूको आँकलन छ।

भारतको दक्षिणी भेगका केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरू भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने मौसमविद् शान्ति कँडेलले बताउनुभयो। ‘सामान्यतया भारतमा मनसुन शुरू भएको ८÷१० दिनमा नेपालमा मनसुन प्रवेश गर्छ तर यसपटक जुन १० अघि नै मनसुन सक्रिय हुने गतिविधि विकास भइरहेको छ।’ –उहाँले भन्नुभयो।

हिन्द महासागरमा विकास हुने मनसुनी गतिविधि बंगालको खाडी हुँदै दक्षिण भारतमा फैलिएर क्रमशः म्यानमार, भारतकै कलकत्ता, सिक्किम, बंगलादेश हुँदै मुलुकको पूर्वी भेगबाट भित्रिने गर्छ। नेपाल भित्रिएको मनसुन एक सातापछि क्रमशः मुलुकभर फैलिने गर्छ। दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरू हुने ‘मौसमी क्यालेन्डर’ तय गरेको छ।

यसपटक त्यहाँ ४ दिनअगावै गत मे २६ तारिख (जेठ १२) मा मनसुन सक्रिय भएकाले अन्यत्र पनि छिट्टै फैलिने मौसमविद्हरूले अनुमान गरेका हुन्। साधारणतया अंग्रेजी महिनाको जुनदेखि सेप्टेम्बरसम्मका ४ महिनाको अवधिलाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ। नेपालमा जुन १० मा भित्रिने मनसुन सेप्टेम्बर चौथो सातापछि निस्क्रिय हुने गर्छ। गत वर्ष जुन १२ मा भित्रिएको मनसुन सन् २०१५ मा ५ दिन ढिलो गरी शुरू भएको थियो भने २०१५ मा ३ दिन र २०१४ मा १० दिन ढिलो गरी शुरू भएको थियो। यसपटक नेपालको वर्षा औसतका हाराहारीमा रहने सास्कोपको ठहर छ। नेपालसमाचरपत्रबाट