विदेशी कामदार बढाउने जापान सरकारको योजना

टोकियो । जापानी प्रधानमन्त्री सिञ्जो आवेले थप विदेशी कामदारलाई जापान आउने अनुमति दिने योजना बनाएको बताएका छन् । जापानमा पछिल्लो समय भइरहेको श्रम अभावको भरपाई गर्न आवेले यस्तो योजना ल्याएका हुन् । यही जुन ५ तारिक सो नीतिको ड्राफ्ट समेत सार्वजनिक गरिएको छ । सरकारले आगामी अप्रिलसम्ममा निर्माण, कृषि तथा नर्सिङ लगायतका पाँच ओटा विभिन्न क्षेत्रमा नयाँ प्रकारको वर्क पर्मिट ल्याउने तयारी गरेको हो । जापानले सन् २०२५ सम्म ५ लाख भन्दा बढीको सङ्ख्यामा विदेशी कामदार आकर्षित गर्ने योजना रहेको बताइन्छ । यद्यपि, यसका लागि भाषा कार्यक्रम तथा अन्य उपायका कदम भने चाल्न आवश्यक नै रहेको छ । यसका साथै जापानले प्राय गरेर कामको अनुमति नपाउने गरेका अक्षम श्रमिकका लागि पनि ढोका खुला गर्ने बताइएको छ । कुन देशका कामदारहरु कति संख्यामा ल्याउने भन्ने कुरा भने खुलाइएको छैन ।

जापानका ठूला शहर बाहिरका क्षेत्रमा रहेका साना व्यवसायमा श्रम अभाव हुन थालेको छ । यसै महिना संसदमा पेश हुने आधारभूत आर्थिक तथा वित्तिय नीतिमा नयाँ वर्क पर्मिटसम्बन्धी योजनामा समावेश गर्ने सरकारको योजना छ । यो योजना अनुसार विदेशी कामदारले दुई ओटा तरिकाबाट नयाँ वर्क पर्मिट पाउन सक्छन् । पहिलो, उपाय हो पाँच वर्षसम्म चल्ने टेक्निल इन्टर्न ट्रेनिङ प्रोग्राम सकाउने । यसमा प्रशिक्षणमा सहभागिहरुले प्रशिक्षण सकाएर घर जान त पाउँछन् तर उनीहरुले हासिल गरेको कौशल जापानमै काम लागोस् भन्ने चाहना सरकारको रहेका कारण यस्तो हुन सक्ने सम्भावना हाललाई चाहिँ कम नै छ । प्राविधिक तथा जापानी कौशलबारेको परिक्षा उतिर्ण गर्ने चाहिँ अर्को उपाय हो ।

गत वर्षको अक्टोबरसम्ममा जापानमा ६ करोड ६० लाखको सङ्ख्यामा श्रमशक्ति रहेको र यसमा विदेशी कामदारको हिस्सा १२ लाख ७० हजार रहेको थियो । चालु आवदेखि आव २०४० सम्म जापानको काम गर्ने उमेर समूह अर्थात १५ देखि ६४ वर्ष उमेर समूहका जनसङ्ख्या डेढ करोडले घट्ने अनुमान गरिएको छ । नयाँ नीति लागू भएसंगै बिदेशी कामदारको मामिलामा ठूलो परिवर्तन आउने जापानको श्रम बजारका विश्लेषहरु बताउँदछन् ।

विदेशी कामदारहरु भित्राउने नीति लिइरहँदा जापानमै रहेका विदेशीहरुसंग सम्बन्धित थुप्रै समस्या तथा चुनैतीहरुको समाधान पनि संगै सोच्नु आवश्यक रहेको जानकारहरु बताउँदछन् ।

Source: Nepali In Japan

Leave a Reply

Your email address will not be published. Required fields are marked *