कविता :आमाको रातो आँसु(अनील चौँलागाई)

तिमीले हेर्ने ऐनामा हेर
पुज्ने मन्दिरमा हेर
त्यहाँ तिमि भगवान पाउँछौ भने
एकपल्ट आफ्नै घरको
झयाल ढोका खोलेर हेर
खै त तिम्री बूढी आमा ?

ढुङ्गालाई महादेवको लिङ्ग मानी
फूलपाती चढाऊने बुहारि
ढुङगामा दही र फुलपातिको थालिमा
पैसा फ्याक्ने छोरो
खोई त तिम्री बूढी आमा ?

यती राम्रो रोजगार बोकेको मान्छे तिमी
आफ्नै बलबुताले शहरमा ठडिएको घर तिम्रो
टीपिक्क छाती बोकेकि साथमा संगिनी
डबल बेडमा ओच्छ्याइएको बीस इन्चे कपासे डस्ना
फ्रीजमा ठडिएका राता काला बोतल हरू
हेर्दा वाओ लाग्छ
प्रगतिले दुश्मन जलाएको छौ
घरका कोठालाई भाडामा लगाएका छौ
एउटा महलभीत्र सबै अटायौ
तर
एउटी बृद्द आमा किन अटिनन्?
किन हुत्तायौ ? बृद्द आश्रममा आमालाई?

माइकल ज्याक्सनको पप उफरमा उफ्राउँदै निदाउने तिमी
के बृद्द आमाको खोकि असहज भएको हो ?
पोल्टामा हँसिया भिरेर
उकाली ओरालीमा पसीनाको खोली बगाएर
छोरो भटमास मन पराउँछ है भनि खुवाउने आमा
आज निर्दयी बदमास छोरोको आमा भएकी छिन्

तिमिलाई चिसो लाग्छ भन्ने डरले
परालको गुन्द्री बुन्ने आमालाई
किन धकेल्छौ सडकका पेटीहरुमा ?
तिमीले आज किन्ने गरेको भटमासमा
आमाको माया मिसिएको नहोला?
यदी आकास गंगाबाट तिमी खसेको होइनौ भने
तिमीले पिउने रातो झोल कतै
तिम्रै निर्ममताले पिलिएर
आमाको रातो आँखाले ओकलेको
रातो आँसु त होइन ?
भन तिमी स्याऊको अङ्गुरको को जूस की
आमाको बेदनाको रातो आँसू पिउदै छौ ? ?

अनिल चौलागाइ
टोकियो जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *